काठमाडौँ उपत्यकाबाहेक नेपालको पहाडी क्षेत्रमा एक आपसमा रङ लगाएर यो पर्व मनाउने गर्छन् । तराई मधेस क्षेत्रमा शुक्रवार (भोलि) मनाउने तयारीमा छन् । फागु पर्व तथा होलीको अवसरमा सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाले सरकारी कार्यालय, विद्यालय सङ्घ–संस्थाहरू सुनसान देखिएका छन् ।सहर बजारका चोक चोक तथा गल्ली गल्लीमा युवायुवती, बालबच्चा तथा जेष्ठ नागरिकहरूले रमाइलो गरी पर्व मनाइरहँदा राजनीति गतिविधि ठप्प रहेको छ । प्रधानमन्त्री केपी ओलीको आज फागु विशेष कुनै कार्यक्रम नभएको सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।
प्रधानमन्त्रीज्यूको होली विशेष केही कार्यक्रम छैन । सार्वजनिक बिदा भएकाले सार्वजनिक कार्यक्रम पनि बनेको छैन । सायद दिनभर आज प्रधानमन्त्री निवासमै बस्नुहुन्छ होला’, उनले भने । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फागु विशेष कुनै कार्यक्रम नभएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उहाँको आज कुनै सार्वजनिक कार्यक्रम छैन । निवासमा पनि होलीको कार्यक्रम राखिएको छैन । सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँग होली मनाउने कार्यक्रम अहिलेसम्म तय भएको छैन’, देउवाले भने ।
मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा भाग लिन बुधवार बुटवल पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडान प्रभावित भएपछि भर्खर काठमाडौँ आइपुगेका छन् । प्रचण्ड पार्टी उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ पुण्य तिथिमा सहभागी भएर निवासमा बस्ने स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । प्रचण्डको फागु विशेष कुनै कार्यक्रम छैन । उपमहासचिव शक्ति बस्नेतको बुवाको १३ औँ दिनको कार्यक्रममा सहभागी भएर निवासमै बस्नुहुन्छ’, उनले भने । यस्तै पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालको पनि फागु विशेष कुनै कार्यक्रम नभएको उनको सचिवालयले जनाएको छ । आज दिनभरि निवासमै बस्ने स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

