काठमाडौँ — नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन चैत्र ८ र ९ गते हुने भएको छ। महाधिवेशनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक माधवप्रसाद चम्लागाईले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए।महाधिवेशनमा ७७ जिल्लाबाट एक हजारभन्दा धेरै प्रतिनिधिहरू सहभागी हुने उनले बताए। 'हालसम्म ६ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० संघीय निर्वाचन क्षेत्र ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको छ,' उनले भने ।
महाधिवेशनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, स्वरबोलाइ सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहुअपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्णअशक्तता, अतिशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहने उनले बताए। संघको विधान अनुसार महाधिवेशनले ५१ जनाको कार्यसमिति चयन गर्नेछ।
विधानअनुसार अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुई जना, महामन्त्री दुई जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशिता समेतलाई ध्यानमा राख्दै अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।
संघको प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ र कोषाध्यक्ष तथा दुइ जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने व्यवस्था छ। महाधिवेशन सम्पन्न गर्न कांग्रेसले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहेको तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो।

