
महाधिवेशनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, स्वरबोलाइ सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहिन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहुअपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्णअशक्तता, अतिशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहने उनले बताए। संघको विधान अनुसार महाधिवेशनले ५१ जनाको कार्यसमिति चयन गर्नेछ।
विधानअनुसार अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुई जना, महामन्त्री दुई जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशिता समेतलाई ध्यानमा राख्दै अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।
संघको प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ र कोषाध्यक्ष तथा दुइ जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने व्यवस्था छ। महाधिवेशन सम्पन्न गर्न कांग्रेसले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहेको तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो।