काठमाडौँ — नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र झण्डै दोब्बर मतले अगाडि रहेका छन् । एसोसिएसनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत मतगणनाको तेस्रो दिन पनि मिश्रले अग्रता कायमै राखेका हुन् ।पछिल्लो परिणामअनुसार मिश्रले ४ हजार २ सय ७२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ८ सय ४३ मत प्राप्त गरेको मतगणना अपडेटमा उल्लेख छ ।
बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षसहित अरु पदका उम्मेदवारको अग्रता पनि कायम छ ।बारको नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । ९ हजार ९ सय ५७ मतदाता रहेकामा निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव पदमा उम्मेदवार रहेका छन् ।तेस्रो दिन पनि मतगणना बिहान ८ बजे जारी छ ।

