काठमाडौं ९ असार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेश र संघको चुनावपछि कांग्रेस र एमाले आफूहरूसँग मिल्न आउनुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा दाहालले आगामी चुनावमा माओवादी मुलुककै दोस्रो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् ।अध्यक्ष दाहालले संघ र प्रदेशको चुनावमा माओवादी नेकपा एमालेभन्दा अगाडि हुने सम्भावना रहेको बताएका छन् । 'संघ र प्रदेश चुनावमा वामपन्थी दलमध्ये पहिलो दल बन्ने सम्भावना रहेको छ । यदि चुनावमा हामी लेफ्टमध्येको पहिलो भयौँ भने मुलुकको राजनीतिको बागडोर हाम्रो हातमा आउँछ,' उनले भने ।
तेस्रो पार्टीका रूपमा अहिले माओवादीलाई कांग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता रहेको पनि उनले बताए । 'अहिले चाबी त हाम्रै हातमा छ । तर कि कांग्रेससँग मिल्नुपर्ने कि एमालेसँग मिल्नुपर्ने अवस्था छ । हामीसँग चाबी त छ तर खोल्नका लागि अरु कसैको साथ चाहिने अवस्था छ,' उनले भने ।

