काठमाडौँ — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माध्यमिक विद्यालयमा आज आयोजित शैक्षिक कार्यक्रममा उनले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले वहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका निम्ति माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए ।त्यस अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

