स्वास्थ्यमा तीनै तहको सरकारले संयुक्त लगानी गर्नुपर्छः मन्त्री पौडेल
zeenepal
२०८२ बैशाख १६,
3
Shares
काठमाडौै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्नेगरी सरकार अघि बढिरहेको बताएका छन् ।अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गरे । ‘आगामी वर्षभित्र सातवटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य छ,’ उनले भने ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने बताए।अब हामीले नीतिगत र सुशासनको क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारे काम गरौं । जुनसुकै तहको अस्पताल जहाँ छ त्यसमा तीनवटै तहको सरकार मिलेर लगानी गरौं,’ उनले भने, ‘सीमित स्रोत साधनकाबीच प्रभावकारी सेवा बिस्तार गर्न सहयोग पुग्छ कि ? हामी यस्तो मोडालिटीको विकास गर्न खोजिरहेका छौं ।’
मन्त्री पौडेलले मुटु र जलन उपचार सेवाको पूर्वाधार निर्माणका लागि पनि काम अघि बढिसकेको जानकारी दिए ।
हालसम्म ६० वटा आधारभूत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै उनले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए ।अहिले हामीसँग भएका स्वास्थ्य उपचारको समेत प्रयोग गर्ने समय सिद्धिन लागेको स्थिति छ । प्रदेश अस्पतालहरूको हकमा समेत त्यही खालको स्थिति रहेको छ,’ उनले भने ।
संघीय अस्पतालहरूमा समेत पर्याप्त पूर्वाधार बन्न नसकेको उनले स्वीकारे । ‘अब ६० वटा आधारभुत अस्पतालका भवनहरु बनेका छन् । तर त्यसमा जनशक्ति पनि छैन, उपकरण पनि छैन,’ उनले भने ।निर्माणाधीन आधारभूत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको बताए ।