सरकारले विभिन्न निकायबाट प्रदान गरिने सेवा एकै ठाउँबाट प्रदान गर्ने भए
zeenepal
२०८२ बैशाख १९,
9
Shares
काठमाडौं । सरकारले विभिन्न निकायबाट प्रदान गरिने सेवा एकै ठाउँबाट प्रदान गर्ने भएको छ । सेवाग्राहीलाई सहजता र सुविधाका लागि भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत नागरिक सेवा केन्द्रको घोषणा गरेको हो ।नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘नागरिक सेवा केन्द्र’हरुबाट विभिन्न निकायबाट प्रदान गरिने सेवा एकै ठाँउबाट दिने तयारी रहेको बताए । सरकारले स्थानीय तहसँगको समन्वयमा यस्ता केन्द्रहरु स्थापना गर्ने घोषणा गरेको हो ।
सार्वजनिक सेवा प्रभावकारी बनाउन ‘फेसलेस’ कार्यक्रम सञ्चालन गर्ने भनेको छ । सेवाग्राहीहरु घरमै बसेर अनलाइनबाट सेवा लिन पाउने, त्यसका लागि कार्यालयमा जान नपर्ने गरी केही निश्चित सेवाका लागि ‘फेसलेस’ सेवा भनेको हो ।सरकारले फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने भएको छ । ती संरचनाको पहिचान गरी उसले गाम्भे र हस्तान्तरण गर्ने योजना बनाएको छ । रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगले राजस्व अनुसन्धान विभाग लगायतका निकायहरु खारेज गर्न सुझाव दिएको थियो ।
सरकारले कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण गर्ने दुई निकायहरुलाई रुपान्तरण गर्ने विषय पनि नीति तथा कार्यक्रममा समेटेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई संघीयता अध्ययन प्रतिष्ठानमा रुपान्तरण गर्ने भनेको छ । अनि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई सार्वजनिक प्रशासन र शासकिय अभ्यास अनुसन्धान प्रतिष्ठान बनाउने घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवामा जोड्ने बताए । विवादका कारण रोकिएको राष्ट्रिय परिचयपत्र जारी गर्ने प्रक्रिया सर्वोच्च अदालतको आदेशपछि चालु भएको थियो । सरकारले बैंक खाता खोल्ने, सामाजिक सुरक्षा भत्ता, पेन्सन लगायतका केही क्षेत्रमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने रणनीति लिएको छ ।
सार्वजनिक सेवालाई सर्वसुलभ बनाउने घोषणा सहित नीति तथा कार्यक्रममा तीन तहको सरकारबीच समन्वयात्मक र सहकार्य गर्ने उल्लेख छ । सरकारले निजामती सेवालाई उच्च मनोवलयुक्त बनाउने भनेको छ ।नीति तथा कार्यक्रममार्फत सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सेन्टर अफ एक्सिलेन्ट बनाउने भनेको छ । केही साताअघि मन्त्रिपरिषदले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरिय शासकीय सुधार आयोग’ बनाउने निर्णय गरेको थियो । त्यसैलाई उल्लेख गर्दै नीति तथा कार्यक्रममा त्यो आयोगले दिएको सुझाव र निर्देशनलाई कार्यान्वयन गर्दै लैजाने उल्लेख छ ।
आर्थिक अपराधमाथिको निगरानीको अभाव र अनुशासनहिताका कारण नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको जोखिमपूर्ण सूची ग्रे लिष्टमा परेको छ । त्यो घोषणा सार्वजनिक भएलगत्तै कतिपय मन्त्रीहरुले एक वर्षभित्र नेपाल ग्रे लिष्टबाट बाहिर निस्कने घोषणा गरेका थिए ।सरकारले २०८३ सालभित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने घोषणा गरेको छ । त्यसका लागि आर्थिक अपराधसम्बन्धी प्रचलित कानुनको कार्यान्वयन र अपराधमा संलग्नहरुमाथि कारवाहीलाई तीब्र बनाउनुपर्नेछ । सरकारले ग्रे लिष्टबाट बाहिर निकाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका निकायहरुलाई सक्रिय बनाउने घोषणा गरेको छ ।