काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सम्बोधन गरेको प्रतिक्रिया दिएका छन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमपछि रातोपाटीसँग नीति तथा कार्यक्रमका विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रममा निजी क्षेत्रका सुझावलाई सरकारले प्रमुख प्राथमिकताका साथ समावेश गरेको बताए । उनले निजी क्षेत्रका सुझावलाई समावेश गर्नु सकारात्मक भएको भन्दै सरकारले कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।
उनले डिजिटल कारोबार,सरकारका सेवा सुविधालाई डिजिटलाइज गर्ने,शिक्षालाई रोजगारी, सीप र उद्यमसँग जोड्ने विषय निजी क्षेत्रको सुझाव रहेको बताए ।उनले निजी क्षेत्रका यस्ता सुझावलाई सरकारले प्रतिबद्धता देखाउनु सकारात्मक भएको उल्लेख गरे ।
अध्यक्ष ढकालले सरकारले उद्योग व्यवसायमा सहजिकरणको लागि नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाएको बताए । उनले मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको शिथिलतालाई गतिशिल बनाउन नीति तथा कार्यक्रम कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।अध्यक्ष ढकालले भने,‘ सरकारले निजी क्षेत्रका सुझावलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको छ । यो सकारात्मक विषय हो । सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर ल्याएको कार्यक्रमलाई कार्यान्वयनमा जोड दिनु आवश्यक छ । बजेट पनि नीति तथा कार्यक्रम अनुरुप आउन आवश्यक छ ।उनले नीति तथा कार्यक्रममा सकारात्मक भए पनि नीति तथा कार्यक्रमलाई बजेटले कसरी सम्बोधन हुन्छ त्यो भन्ने बजेट आएपछि मात्रै भन्न सकिने बताए ।

