म्याग्दी । नेपाली कांग्रेसका नेता एनपी साउँदले ऐन, कानुन बनाउनुपर्ने उचित समय अहिले नै भएको बताएका छन् । कांग्रेस म्याग्दीले बिहीबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले दुईतिहाइको सरकार भएकाले देशको हितका लागि काम गर्ने उचित वातावरण रहेको बताएका हुन् ।
‘संविधान कार्यान्वयनका लागि प्रबन्ध गरिएका तर, दरिलो बहुमत नभएका कारण थाती रहेका जति पनि ऐन, कानुन छन् । ती ऐन, कानुन बनाउनुपर्ने बेला यही हो,’ साउदले भने, ‘हामीसँग बहुमत छ । देशको हितका लागि काम गर्ने वातावरण छ । यो हाम्रो बनाएको विधेयक असफल होला भन्ने जोखिम छैन । दुईतिहाइको बहुमत छ ।
उनले दुईतिहाइको सरकारले विधेयकमार्फत् कानुन बनाउनुपर्ने बेला अध्यादेशको साहारा लिएका कारण पार्टीकै नेताहरू विरोधमा उत्रिनु परेको पनि स्पष्ट पारे ।संसद्बाट विधेयक लैजानुपर्ने ठाउँमा अध्यादेश आएपछि हामीजस्ता सांसदहरूले औंला ठड्याउनुपर्ने बाध्यता आयो,’ नेता साउदले भने, ‘किन आयो भन्दा दुईतिहाइ बहुमत छ । प्रजातान्त्रिक मूल्य–मान्यताको कुरो छ । हामी दुईतिहाइ बहुमतको सरकारमा छौँ र सरकारमा रहेकाहरू बोलेनन् भने प्रतिपक्षसँग त त्यो तागत नै छैन ।
प्रतिपक्षीसँग शक्ति नरहेको र शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न नसक्ने उनको भनाइ थियो । ‘प्रतिपक्षसँग शक्ति छैन । शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न सक्दैन,’ साउदले भने । नेता साउदले १४ औँ महाधिवेशनको म्यान्डेडअनुसार पार्टीको विभिन्न जिम्मेवारीमा पुगेका नेताहरूको ध्यान पार्टीलाई मजबुत बनाउनेतर्फ कन्द्रित हुन नसकेको पनि बताए । ‘१४ औँ महाधिवेशनले परिपक्व नेतृत्वलाई स्थान दिनुपर्छ, युवालाई पनि स्थान दिनुपर्छ भन्ने उद्देश्यले सबैलाई मिलाएर पार्टी चलाउनुपर्ने जिम्मेवारी दिएको छ,’ साउदले भने, ‘तर, त्यो जिम्मेवारी लिइसकेपछि पनि सबैले पार्टीलाई बलियो बनाउन जुन किसिमले सहकार्य गरेर प्रभावकारी बनाउनुपर्ने हो, त्यतातिर हाम्रो ध्यानकेन्द्रित हुन सकेको छैन ।’

