मकवानपुर सशस्त्र प्रहरीको एपीएफ ले हेटौंडामा जारी सातौं महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको फाइनलमा टाइब्रेकरमा ३-१ गोलअन्तरले एपीएफ विजयी भएको हो ।
एपीएफले उपाधिसहित ७ लाख रुपैयाँ जितेको छ । उपविजेता नेपाल पुलिसले ५ लाख रुपैयाँमा प्राप्त गर्यो । एपीएफका तर्फबाट गीता राना, अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । पुलिसको तर्फबाट उषा नाथले मात्र गोल गर्दा निरु थापा, सुस्मा तामाङ र रेबिका पाण्डेले गोल गर्न चुके । एपीएफबाट रश्मि घिसिङको प्रहार गोल भएन ।
खेलको म्यान अफ दि म्याच एपीएफका गोलरक्षक एन्जिला लामा घोषणा भइन् । उनले नगद १० हजार प्राप्त गरिन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा चैत १९ बाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।