काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै नागरिक उड्डयन मन्त्रालयका विभिन्न कार्यक्रम समावेश गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन गरिएको छ । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्ने योजना समेत बजेटमा समेटिएको छ ।
१. पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ गरिनेछ । छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिनेछ । २. पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिनेछ । प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । स्थलमार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिनेछ ।
३. पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ । राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जङ्गल सफारी, पदयात्रा र पर्या–पर्यटकीय पूर्वाधार विकासमा जोड दिइनेछ । प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन, होटल, लज, रिसोर्ट लगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिनेछ ।

