काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको काठमाडौँ विश्वविद्यालय सभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने खालको जनशक्ति उत्पादनमा लाग्न आग्रह गर्दै यस मामिलामा काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको बताए ।स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँच वृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राखे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति रघुजी पन्तले शैक्षिक सुधार र रूपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताए । विश्वविद्यालयका उपकुुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताए ।
दीक्षान्तका लागि ग्रेस लिष्ट पारित
बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कुललहरु अन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिष्ट स्वीकृत गरेको छ । ग्रेस लिष्टमा एक सय १८ विदेशी विद्यार्थी समावेश रहेका छन् ।

