
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शुक्रबार बोल्दै मन्त्री देउवाले विगतमा राम्रो उद्देश्यले लिइएको निर्णयले अहिले चुनौती बढाएको बताइन् । ‘त्यहाँ रहेका घरेलु कामदारहरूलाई लिगल दायरामा नल्याउँदा उनीहरुरू घर फर्किन पनि गाह्रो छ । समस्यामा परेकालाई उद्धारमा समस्या छ । दूतावासहरूले पनि लुकेर सेल्टर बनाउनुपर्ने स्थिति छ,’ उनले भनिन् ‘उनीहरूको उद्धारका लागि बजेट पनि नहुने स्थिति छ । उनीहरूको सामाजिक र श्रमको सुरक्षामा पनि समस्या आइरहेको छ । धेरै अप्ठ्यारो परिस्थितिहरूको सामना गरिरहेका छौं । राजदूतहरूबाट पनि त्यस्तै रिपोर्टहरू आएका छन् ।’
नेपालको श्रम गन्तव्य नरहेको र अवैध रूपमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम भइरहेको उनले बताइन् । वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानका लागि उपाय प्रस्तुति गर्न परराष्ट्र मन्त्रालयको संयोजकत्वमा गठित समितिले काम गरिहरेको उनले जानकारी दिइन् ।
मन्त्री राणाले मन्त्रालयले कुटनीतिक सक्रियाता बढाएको दावी गरिन् । कुटनीति भनेको एउटा प्रक्रिया रहेको भन्दै यसबाट आजको आजै परिणाम दिइहाल्ने, प्रतिफल हात परिहाल्ने स्थिति नरहने बताइन् । ‘विश्व समुदाय, अन्तर्राष्ट्रिय मञ्च, द्विपक्षीय तथा बहुपक्षीय भेटहरूमा नेपालको सहभागिता र संलग्नतालाई बढाइएको छ । नेपालको एजेन्डा स्थापित गर्ने प्रयास गरिरहेका छौं,’ उनले भनिन् ‘मलाई विश्वास छ प्रतिफल राम्रै निस्कनेछ ।’ अहिलेको प्रयासबाट भविष्यमा देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम निस्किने अपक्षा गर्न सकिने उनको भनाई थियो । पछिल्लो समय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीबाट भएका वैदेशिक भ्रमणहरूको जानकारी समितिमा राणाले गराएकी थिइन् ।