काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।
नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले जेठ १४ गते उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए । प्रहरीले उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरे पनि रिहा भइसकेका छन् । प्रहरीले घटनामा संलग्न मुख्य आरोपीहरू मदनराज उपाध्याय र भुवन ओझाविरुद्ध मुद्दा चलाएको छैन ।
त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटान गरेर उजुरी दिए पनि प्रहरीले गृह प्रशासनको संरक्षण पाएका आरोपीहरूलाई संरक्षण गरेको भन्दै आलोचना भएको छ । सोमबारको छलफलमा पनि निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकाहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरेका थिए । केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखितपत्र प्रस्तुत गरेका छन् ।असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको समेत उनले बताएका थिए ।

