काठमाडौँ । नेपाल पत्रकार महासंघको हालै पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १२ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारको भौतिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ। आर्थिक संकटको बहानामा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारगृहलाई यही असार मसान्तभित्र सम्पूर्ण बक्यौता भुक्तानी गर्न आग्रह गर्दै महासंघले अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
२०८२ असार ५ र ६ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न महासंघको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकले १२ बुँदे ‘पोखरा घोषणा पत्र–२०८२’ जारी गर्दै उक्त चेतावनी दिएको हो। घोषणा पत्रमा संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्भयपूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन महासंघ प्रतिबद्ध रहेको उल्लेख छ।महासंघले पछिल्लो समय अदालतबाट समाचार हटाउन दिइएका आदेश र समाचारकै कारण पत्रकारमाथि पक्राउ पुर्जी जारी गरिएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
यस्तो छ १२ बुँदे घोषणापत्र
नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । संविधानमा लिपिबद्ध मौलिक हक अन्तर्गतको सञ्चारको हक, स्वतन्त्रताको हक र सूचनाको हकबमोजिम नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै निर्भयपूर्वक समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने वातावरणसहित प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न र उपभोग गर्न पूर्ण प्रतिबद्ध रहने प्रण गर्दै २०८२ असार ५ र ६ गते कास्की जिल्लास्थित पर्यटकीय नगरी पोखरामा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकबाट यो घोषणा पत्र जारी गरिएको छ ।
१. पछिल्लो पटक काठमाडौँ जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु डटकममा प्रकाशित समाचार डिलिट गर्नेसम्बन्धी मुद्दामा दिएको आदेश र पत्रकार दिलभूषण पाठकलाई समाचारमूलक सामग्री प्रसारण गरेकै कारण पक्राउ पूर्जी जारी भएको गलत कदमका बारेमा महासंघको यो बैठकमा गम्भीर छलफल भएको छ । यद्यपि संविधानप्रदत्त अधिकारको रक्षा गर्दै २०८२ असार ६ गते काठमाडौं जिल्ला अदालतबाट नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउनेसम्बन्धी मुद्दा खारेज र उच्च अदालत पाटनबाट पत्रकार पाठकलाई पक्राउ नगर्न भएको छुट्टाछुट्टै आदेशको यो बैठक स्वागत गर्दछ ।


