प्रतिनिधि सभामा २६ औं दिन पनि रास्वपा र राप्रपाको विरोध
zeenepal
२०८२ असार ८,
12
Shares
काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।३० जेठमा दुई बुँदे सहमति गरेर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी संसद्को कारबाहीमा सरिक भएका छन् । तर, रास्वपा र राप्रपा निरन्तर विरोधमा छन् । आज २६ औं दिनमा पनि विरोध जारी राखेको छ ।
बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्मा नाटक मञ्चन भइरहेको बताए ।मानव तस्करी जस्तो विषयमा सरकार गम्भीर नभएको उनले आरोप लगाए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग छ ।
विगतका एक जना सांसद संसद्मा उभिए पनि विरोध हुने र कुनै पनि मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा आउनुपर्ने भनेर गृहमन्त्री रमेश लेखकले भन्ने गरेको उनले स्मरण गरे । तर, आफैँमाथि गम्भीर प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।
राप्रपाका सांसद धवल शम्शेरले सरकार किन भिजिट भिसा प्रकरणमा छानबिनका लागि तयार भएन भनेर प्रश्न गरे ।रास्वपा र राप्रपाको विरोधका बाबजुत सभामुखले संसदको कामकारबाही अगाडि बढाएका छन् ।