युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने : श्रममन्त्री भण्डारी
zeenepal
२०८२ असार १६,
30
Shares
काठमाडौँ —श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताएका छन् ।सोमबार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिस्रोतका रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने भनाइ राखे ।मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी १० वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्धन दशकका रुपमा कार्यक्रम घोषणा गरेको बताए ।
उनले भने, ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन । तर,रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देश भित्रै रोजगारको अवसर सिर्जना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ । उनले रोजगारी सिर्जना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सिर्जना हुने जिकिर गरे । मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानालाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको विषय भएको बताए । उनले थोरै पैसाका लागि विदेसिनुभन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाए ।