कांग्रेस पार्टी कार्यालय बाहिर नेविसङ्घको प्रदर्शन
zeenepal
२०८२ असार १७,
9
Shares
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले मंगलबार पनि पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेको छ । आज पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा बाहिर नेविसङ्घका नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका हुन् । आन्दोलन गर्ने कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइराला पक्षधर विद्यार्थीहरू हुन् । उनीहरूले वर्तमान तदर्थ समितिले महाधिवेशन गराउन नसक्ने भन्दै भङ्ग गरेर नयाँ समिति बनाउन माग गर्दै आन्दोलन गरिरहेका हुन् ।
नेविसङ्घका नेता भुवन भट्टले आन्तरिक लोकतन्त्रको अभ्यास गराउन माग गर्दै प्रदर्शन गरिएको बताए । ‘आन्तरिक लोकतन्त्रको अभ्यासलाई व्यवहारमा लागु गराउन पार्टीको ध्यानाकर्षण गराउन र म्याद मात्र थप्ने, अधिवेशन उन्मुख गराउन जिम्मेवार नहुने प्रवृत्तिविरूद्ध हामीले प्रदर्शन गरिरहेका छौँ,’ भट्टले भने ।शेखर समूहले नेविसङ्घभित्र वैधानिकताको प्रश्न उठाउँदै समानान्तर गतिविधि गर्दै आइरहेको छ । नेविसङ्घका नेता कार्यकर्ताले सोमबार पनि प्रदर्शन गरेका थिए । नेविसंघको दुजाङ शेर्पा नेतृत्वको तदर्थ समितिको म्याद २०८१ चैत्र मसान्तमा सकिएको भएपनि हालसम्म अधिवेशन हुने सकेको छैन ।