स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए
zeenepal
२०८२ असार २०,
9
Shares
काठमाडौँ । ६ दिने स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुई पक्षीय भेटवार्ता भएको थियो । त्यसबाहेक स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो । स्पेनमा प्रधानमन्त्रीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।