काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेका छन् ।बीबीसीका अनुसार टेक्सासमा आएको आकस्मिक बाढीपछि हालसम्म १०० भन्दा बढीको मृत्यु पुष्टि भएको छ,जसमा केर काउन्टीका मात्रै कम्तीमा ८४ जना नागरिक परेका छन्।हराइरहेका दर्जनौं मानिसको खोजी चौथो दिनसम्म पनि जारी रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले टेक्सासमा धेरै नेपालीको बसोवास रहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ। त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ,’ मंगलबार सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै उनले भने।
‘टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले लेखेका छन्, ‘त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु ।’बीबीसीका अनुसार, केर काउन्टीमा रहेको ‘क्याम्प मिस्टिक’ नामक बालिकाहरूको ग्रीष्मकालीन शिविरले कम्तीमा २७ जना बालिका र कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ। १० जना बालबालिका र एक काउन्सिलर अझै बेपत्ता छन्।यो क्षेत्रमा अझै वर्षा जारी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता बाढीबाट प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना बनाएका ह्वाइट हाउसले जनाएको छ।
ADVERTISEMENT

