काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने बताएका छन् ।बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं, सबै नागरिकले सहभागी हुनसक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जरूरी छ ।मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताए ।खान नपुग्ने नागरिकको घरसम्म ऊर्जामार्फत समृद्धि पुर्याउनको लागि सरकार क्रियाशील रहेको पनि बताए ।
हुनेलाई मात्र नभई नहुने नागरिकलाई पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, ऊर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस्’ उनले भने, ‘त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन।मन्त्री खड्काले ऊर्जा क्षेत्रमा विगतमा भएका कामहरूको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताए । मन्त्री खड्काले विद्युत आयोजनाहरूका अकल्पनीय क्षतिहरू हुने गरेको कारण क्षति न्यूनीकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
खड्काले मन्त्रालयले विगतका कामको जगमै बसेर काम गरिरहेको बताए । ‘विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो र अझ बढी आवश्यक छ । विद्वान र राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरूका कुरा सुनेको छु जसले जे भनेपनि ऊर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।खड्काले थपे, ‘अझैपनि सबै घरमा विद्युत पुर्याउन नसकेको अवस्था छ । सबै घरधुरीमा विद्युत पुर्याएर सबै चुल्होमा विद्युत पुर्याउने मन छ ।’
ADVERTISEMENT

