गुल्मी । सेवा प्रवाहमा समस्या भएपछि गुल्मीका विभिन्न सामुदायिक विद्युत् आयोजनाहरू क्रमश: नेपाल विद्युत् प्राधिकरण (नेविप्र)मा हस्तान्तरण हुन थालेका छन् । यसै क्रममा इस्मा गाउँपालिका–६ अमरपुर र मालिका गाउँपालिका–६ अर्जै क्षेत्रमा सञ्चालित अमरपुर अर्जै ग्रामीण सामुदायिक विद्युत् नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरणको प्रक्रियामा प्रवेश गरेको छ ।
दुवै वडाको सिफारिस, समितिको निर्णय, लेखापरीक्षण प्रतिवेदनलगायत आवश्यक कागजातहरू बुझाइसकेपछि अब प्राधिकरणको भेरिफिकेसनपछि अन्तिम रूपमै हस्तान्तरण प्रक्रिया सम्पन्न हुने गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरलेले बताए ।ग्रामीण क्षेत्रका उपभोक्ताहरूले सेवा पाउन बारम्बार कठिनाइ भोग्नुपर्ने अवस्था देखिएपछि सामुदायिक विद्युत् प्रबन्धन टिकाउ हुन सकेन ।
यस प्रणालीअन्तर्गत यस क्षेत्रका १५२० ग्राहकले सेवा लिंदै आएका छन् । १० वटा ट्रान्सफर्मरसहितको संरचना र ६ जना कर्मचारी कार्यरत रहेको सामुदायिक विद्युत् प्रणालीलाई प्राधिकरणमार्फत थप व्यवस्थित र नियमित सेवा दिने लक्ष्य लिइएको हो ।
स्थानीयवासीका अनुसार प्राधिकरणमार्फत विद्युत् सेवा सञ्चालन भएमा बिलिङ, मर्मत तथा व्यवस्थापनमा पारदर्शिता आउने, सेवा गुणस्तरीय बन्ने र उपभोक्ता राहत महसुस गर्ने अपेक्षा गरिएको छ ।अन्य सामुदायिक विद्युत् सञ्चालनमा कठिनाइ भोगिरहेका उपभोक्ताहरूलाई पनि यही बाटो अनुकरणीय हुने देखिएको छ ।

