काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् ।बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताए ।नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको क्रममा भट्टराईले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको बताए ।
१९४९ सालमा पहिलोपटक हवाई सेवा सुरु गरेको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९५९ जना मानिसको ज्यान गएको उनले बताए ।यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । जाँचबुझ आयोगले निर्क्यौल गरेका दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या समाधान गर्ने यी ऐनहरू बनाइरहेका छौँ,’ उनले भने ।
अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाई विस्तार गर्न जरुरी रहेको भट्टराईले बताए ।५५ वटा एयरपोर्ट हाम्रोसामु छन् । अब नेपालमा कति एयरपोर्ट चाहिन्छ ? हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ’ उनले भने, ‘५५ वटा एयरपोर्टमध्ये ३२ जति सञ्चालनमा होलान् । त्यही पनि सबै नियमित छैनन् ।’
भट्टराईले नीजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । ‘फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो’ उनले भने, ‘राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ ।’
भट्टराईले अब थप विमानस्थल थप्ने भन्दा भएकाको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।
ADVERTISEMENT

