काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोसी जलविद्युत योजनाका सम्बद्ध अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतको संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी तयारी हालतमा रहन निर्देशन दिएका छन् । पूर्णतः स्वदेशी सीप र पुँजीबाट बन्ने सर्वाधिक ठुलो अयोजनाको रूपमा रहेको यो आयोजनाले बुधबार उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको थियो ।
आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुङ्गो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रबिसे– लप्सिफेदी प्रसारण लाइनबाट विद्युत् प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरू सँग सहमति हुन नसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो । त्यहाँ समेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सवस्टेशन हुँदै ढल्केबर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो । वि.सं २०७० देखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटा आदि समस्या र पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन ।
ADVERTISEMENT

