काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । असार १९ मा कार्यसम्पादन समितिको बैठकले भदौको दोस्रो साता केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।कार्यसम्पादन समितिले गरेको समय अनुसार केन्द्रीय समिति बैठक बस्न सकेन भने नयाँ मिति पनि सार्वजनिक गरिएको छैन ।बैठक बस्न नसकेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँग असन्तुष्ट पक्ष रुष्ट बनेको छ । महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षले अध्यक्ष लिङ्देनका निर्णय विरुद्ध चरणवद्ध वक्तव्य निकाल्दै आएको छ ।अध्यक्ष लिङ्देनले नेताहरूलाई पदमुक्त गरेपछि त्यस विषयमा छलफलको लागि असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गरिरहेको छ ।महामन्त्री राणाले कार्यसम्पादन बैठकको समेत माग गरेर अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए ।पार्टीभित्रका समस्याहरू समाधानको निमित्त अविलम्ब कार्यसम्पादन समितिको वैठक बोलाउन उनको माग थियो ।ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्षबाट कुनै प्रतिक्रिया प्राप्त भएन । समस्याहरू सम्बोधन हुन सकेन । जबकी पार्टीभित्रको प्रजातन्त्र, विधिवत संचालन, परिचालन, एकता र भविष्यलाई लिएर देशव्यापी चिन्ता र चासो बढ्दो छ ।’
पार्टीभित्र संकट रहेको जिकिर गर्दै असन्तुष्ट पक्षले बैठकको माग गरेपनि अध्यक्ष लिङ्देनले तत्काल बैठक आव्हान नगर्ने भएका छन् । पार्टी महाधिवेशनउन्मुख भएकाले पूर्व निर्धारित समयमा केन्द्रीय समितिको बैठक बस्न नसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।असोज मसान्तसम्म जिल्ला अधिवेशन गरिसक्ने भनेर कार्य सम्पादन समितिले निर्णय गरेको छ । जिल्ला अधिवेशनको तयारी, स्थानीय तहको अधिवेशन, सक्रिय सदस्यता वितरण गर्ने काममा पार्टी लागेको छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने,‘सबै केन्द्रीय सदस्यहरू अधिकांश यतिखेर जिल्ला तिर हुनुहुन्छ । कार्यसम्पादनमा बैठकमा उहाँहरू पनि बसेर निर्णय भएको हो । तर आवश्यकता पर्यो भने बिचमा बस्न सकिहाल्छ नि ।’राप्रपाले नियमित समयमा महाधिवेशन गर्दा मंसिरभित्र नयाँ समिति ल्याउनुपर्ने हुन्छ । तर, त्यस अवधिमा महाधशिवेन नहुने नेताहरूले बताउँदै आएका छन् ।तल्लो तहको अधिवेशनको क्रममा पार्टी सक्रिय रहेकाले छिट्टै बैठक बस्ने अवस्था नरहेको संस्थापन पक्षका नेताहरूले जानकारी गराएका छन् ।बैठक छल्न र टार्न पर्ने कारण नरहेको बताउँदै प्रवक्ता श्रेष्ठले भने,‘अब अधिवेशन तिर लाग्न पर्यो । तल्लो तहको अधिवेशन समयमा सकिएन भने निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्नै पर्दछ ।’
संस्थापन पक्षको भनाइ अनुसार असोज मसान्त अघि केन्द्रीय समितिको बैठक बस्ने अवस्था छैन । पार्टीले बनाएको कार्यतालिका अनुसार तल्लो तहको अधिवेशनमा समयमा सकिएन भने म्याद थपको निर्णय लिनका लागि केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष लिङ्देन पक्षका नेताहरूको भनाइ छ ।पार्टी बैठक अनिश्चित बनेपछि अर्को पक्षका नेताहरू असन्तुष्ट बनेका छन् । महामन्त्री राणाले पार्टी बैठक बोलाउन पटक पटक अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएपनि आव्हान नगरेको भन्दै गुनासो पोखे । राणाले अनलाइनखबरसँग भने,‘बैठक बोलाउन भनिरहेका छौं । नबोलाएपछि के गर्ने त?’अनुशासन समितिमा संयोजकबाट नवराज सुवेदीलाई हटाएपछि विकसित हुँदै आएका घटनाक्रमले राप्रपामा विवाद चुलिएको छ ।राजसंस्था पुर्नस्थापना समितिको संयोजक रहेका सुवेदीले नेतृत्व गरेको अनुशासन समितिको संयोजकबाट उनलाई हटाएर अध्यक्ष लिङ्देनले रोशन कार्कीलाई नियुक्त गरेका छन् । अध्यक्ष लिङ्देनले उपसभापति मुकुन्दश्याम गिरी र प्रवक्ता सगुन लावतीलाई पनि पदमुक्त गरेका छन् ।
राप्रपामा विवादको अर्को कारण युवा संगठनको काठमाडौंको अधिवेशन बनेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको २८ साउनमा हुन लागेको काठमाडौं अधिवेशन भाडिएको थियो ।अधिवेशनमा हो हल्ला भएपछि अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए । तर, अर्को पक्षले नयाँ समिति गठन गरेको थियो । उक्त घटनामा एकले अर्को पक्षलाई दोषारोपण गर्दैै आएका छन् ।अधिवेशनमा हुलदंगा गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया सुरु गरिएको छ ।केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं ४ का अध्यक्ष रिद्धिप्रताप राणा र असन्तुष्ट पक्षले युवा संगठन काठमाडौंको जिल्ला अध्यक्ष बनाएका ज्योति लामालाई स्पष्टीकरण सोधिएको छ । उनीहरूले स्पष्टीकरण दिइसकेका छन् ।
अर्कोतर्फ, पदमुक्त उपाध्यक्ष गिरीको गृहजिल्ला सुर्खेतमा पार्टीहित विपरीत कार्य गरेको भन्दै थप चार नेतालाई पनि स्पष्टीकरण सोधिएको छ ।सर्खेतमा पार्टी कार्यालय तालाबन्दी गर्न उक्साएको आरोपमा केन्द्रीय सदस्य जनक सिंह, भिमबहादुर शाही र नेता प्रेम बिसीलाई स्पष्टीकरण सोधिएको छ ।सुर्खेतमा लक्ष्मी कुमारी सार्कीले अनधिकृत रुपमा कार्यसमितिको बैठक राखेको कारण देखाउँदै उनलाई पनि स्पष्टीकरण सोधिएको छ ।पार्टी महाधिवेशन उन्मुख भएसँगै दुई कित्तामा नेताहरू देखिएका छन् । दुई समूहमा रहेका नेताहरूको छुट्टा छुट्टै बैठक समेत बस्न थालेको छ ।
ADVERTISEMENT

