नेपालगन्ज । जेनजीको आन्दोलनपछि तनावग्रस्त बनेको जनजीवन क्रमश सामान्यमा फर्किन थालेको छ । सवारी साधन चल्न थालेका छन् । आजदेखि विद्यालय पनि खुलेका छन् । स्थानीय सरकारले पनि आंशिक सेवाहरु दिन थालेका छन् । नेपालगन्ज उपमहानगरपालिका र कोहललपुर नगरपालिकाले सेवा दिन थालेको बताएका छन् । जेनजीको आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटपछि शुन्य अवस्थामा पुगेका नेपालगन्ज र कोहलपुरले आंशिक सेवा दिन थालेका हुन् । जेन–जी आन्दोलनको आडमा बाँकेमा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति माथि भएको क्षतिको विवरण सङ्कलन गर्नै कठिन भएको छ । उक्त आन्दोलनको आडमा बाँकेका दर्जनौँ सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बाँके जिल्ला अदालत, उच्च अदालत नेपालगन्ज इजलास, भन्सार, आन्तरिक राजश्व कार्यालय, मालपोत, नापी, यातायात, कृषि ज्ञान केन्द्र, हुलाक, नरैनापुर र डुडुवा गाउँपालिका, प्रहरी चौकी जयसपुर, ट्राफिक प्रहरी, इलाका प्रशासन कार्यालय कोहलपुर, कोहलपुर नगर विकास समिति, राजश्व अनुसन्धान कार्यालय सहित दर्जनौँ सरकारी कार्यालय क्षतिग्रस्त छन् ।
आन्दोलनको आडमा अराजक समूहले नेपाली कांग्रेस र नेकपा एमालेको नेपालगन्जस्थित जिल्ला पार्टी कार्यालय तथा कोहलपुरमा रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को कार्यालय, एमाले कोहलपुर नगर समितिको कार्यालय, नेकपा माओवादी केन्द्रको कोहलपुर नगर समितिको कार्यालयमा पनि आगजनी, तोडफोड तथा लुटपाट गरेको छ । प्रदर्शनकारीले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घरमा आगजनी गरिदिएका छन् भने उपप्रमुख संगिता सुवेदी र कोहलपुर–११ की वडाअध्यक्ष कल्पना शर्माको घरमा तोडफोड गरिदिएका छन् ।
जेन–जी आन्दोलनकै आडमा नेपालगन्जमा रहेको बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु बिकको सालिक तोडफोड गरेर ढालिदिएका छन्। आन्दोलन पश्चात् जनजीवन सामान्य बन्दै गए पनि आगजनीबाट ध्वस्त भएका संरचना बेवारिसे अवस्थामा रहेका छन् । जिल्लाका सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिको यकिन तथ्याङ्क अहिलेसम्म सङ्कलन हुन सकेको छैन ।आगजनीबाट जिल्लाको प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालय नै तहस–नहस भएपछि क्षतिको विवरण सङ्कलन गर्न नसकिएको एक कर्मचारीले बताए ।
ADVERTISEMENT

