गण्डकी । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ ।परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आइतबार काठमाडौँमा गभर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनः उत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय नयाँ पुस्ताले गरेको आन्दोलन र त्यसले ल्याएको परिवर्तन तथा अठोटको उच्च सम्मान गर्दै ध्यानाकर्षण पत्रमा आन्दोलनका क्रममा अवाञ्छित व्यक्ति तथा स्वार्थ प्रेरित समूहको कारण भएको सरकारी तथा निजी सम्पत्तिमाथिको तोडफोड, आगजनी तथा लुटपाटका घटनाप्रति दुःख व्यक्त गरिएको छ ।
पर्यटन व्यवसायको मुख्य यामको सुरुआत हुनै लाग्दा भएको यस घटनाबाट सबैभन्दा बढी असर यहाँका पर्यटन व्यवसायी तथा उद्योगीहरू माथि परेको छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ, “राज्यको आर्थिक विकासको प्रमुख आधारको रूपमा रहेको पर्यटन उद्योगमा हालै भएको घटनाबाट हरेक दिन पर्यटकहरूले आफ्ना भ्रमण प्याकेज तथा बुकिङ क्यान्सिल गरिरहेको अवस्था छ ।
करिब रु सात खर्बभन्दा बढी लगानी भइसकेको पर्यटन राजधानी पोखराको पर्यटन उद्योग देशको वर्तमान परिस्थितिको कारण यति बेला सुनसानजस्तै भएको परिषद्को दाबी छ । विगतका भूकम्प, कोभिड–१९ जस्ता महामारीको अवस्थामा पनि पर्यटन उद्योगको पुनः उत्थानको लागि सबै तहका सरकारबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको उल्लेख गर्दै परिषद्ले हालको बदलिँदो परिस्थितिमा पनि पर्यटन उद्योगलाई पुनः उत्थान गर्न आग्रह गरेको छ ।

