
'मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मुलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित आग्रह गर्दछ,' राष्ट्रपतिको सन्देशमा उल्लेख छ । उनले मुलुकमा देखा परेका सबै प्रकृतिका समस्याहरूको हल गर्न एकता र सहकार्यका लागि जोड दिनुपर्ने बताएका छन्।
शक्ति, भक्ति भाव र श्रद्धाको पर्वको रूपमा हिन्दूहरूले मनाउने बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सोही दिनदेखि नवमीसम्म नवदुर्गा भवानीको पूजाअर्चना गर्ने गरिन्छ । विजया दशमीका दिन दुर्गा भवानीको प्रसादको स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रुपमा बडादसैँ मनाउने गरिन्छ ।
विजया दशमीको दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन छन् । राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, 'दसैँको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ । दसैँलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइन्छ । यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास मैले लिएको छु ।'