बाल सुधार गृहका ५० बाल बिज्याँइकर्ता सम्पर्क विहिन
zeenepal
२०८२ आश्विन १३,
3
Shares
बाँके नौवस्ता : ‘जेन-जी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका मध्ये अझै ५० जना बाल बिज्याँइकर्ता सम्पर्कमा आएका छैनन् । जेन-जी आन्दोलनको दोस्रो दिन भदौं २४ गते राती ७८ जना बाल बिज्याँइकर्ताहरु बाल सुधार गृहबाट भागेका थिए ।
बाल सुधार गृहबाट भाग्ने क्रममा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय बिनेश घर्तीमगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो, भने दुई जना घाइते भएका थिए । बल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले भागेका मध्ये ५० जना बाल बिज्याँइकर्ता अहिलेसम्म सम्पर्कमा नआएको बताए । ‘भागेका मध्ये २८ जना बाल सुधार गृहमा आईसकेका छन्, अझै ५० जना आउन बाँकी छन्,’ प्रमुख रानाले भने, ‘उनीहरुलाई बाल सुधार गृहमा फर्किनका लागि यही असोज २० गतेसम्मको समय सिमा दिइएको छ ।’
जेन-जी आन्दोलनको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछाने नख्खु कारागारबाट भागेको समाचार बाहिरिएपछि नौवस्ता बाल सुधार गृहमा पनि दिउँसोदेखी नै हो-हल्ला सुरु भएको थियो । ‘रबि लामिछाने नख्खु जेलबाट निस्केपछि हामीलाई पनि छाड्नुपर्यो भन्दै बाल बिज्याइँकर्ताले आन्दोलन सुरु गरे, त्यसपछि सोही दिन राती उनीहरु केही भागे, केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिए,’ रानाले भने, ‘भाग्ने क्रममा पाँच जनाको मृत्यु भयो र दुई जना घाइते भए ।’
यही असोज २० गतेभित्र बाल सुधार गृहको सम्पर्कमा नआए उनीहरुलाई कारागार ऐन अनुसार कारबाही हुने उनले बताए । उक्त बाल सुधार गृहमा शनिबारसम्म १ सय २१ जना बाल बिज्याँइकर्ता रहेका छन् । बाल सुधार गृहमा १६ वर्षदेखी २५/२६ वर्ष उमेर सम्मका बाल बिज्याँइकर्ता रहेको प्रमुख रानाले बताए । विभिन्न अभियोग लागेका र कसूर सजाय पाएका बाल बिज्याँइकर्तालाई विभिन्न जिल्लाबाट ल्याएर राखिएको छ ।सरकारको स्पष्ट नीति नहुँदा १८ वर्ष उमेरभन्दा माथीका ब्यक्तिलाई पनि बाल सुधार गृहमा राख्नु परिरहेको कर्मचारी बताउँछन् । ‘बाल सुधार गृहमा तनाव सिर्जना गर्ने, आपसमा लड्ने भनेका नै १८ वर्ष भन्दा माथीका हुन्, उनीहरुकै कारण बाल सुधार गृहभित्र समय-समयमा तनाव सिर्जना हुन्छ,’ एक कर्मचारीले भने ।