जिल्लाको समृद्धिका लागि सहकार्यमा काम गर्ने प्रतिबद्धता ः बाँकेका नयाँ सीडीओ तामाङ
zeenepal
२०८२ कार्तिक १८,
36
Shares
नेपालगन्ज, कात्तिक । बाँके जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी सीडीओ दिल बहादुर तामाङले जिल्लाको समग्र विकास र सुशासनका लागि सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै सीडीओ तामाङले बाँकेलाई सुशासन, पारदर्शिता र जनसेवाको दृष्टिले आदर्श जिल्ला बनाउन आफु प्रतिवद्ध रहेको बताए। उनले भने, “सबै पक्षको सुझाव र सहकार्यका साथ जिल्लाको बृहत्तर हितका लागि मिलेर काम गर्छु। प्रशासनलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने मेरो प्राथमिकता हुनेछ ।उनका अनुसार, जिल्लामा शान्ति सुरक्षा सुदृढीकरण, कानुनको शासनको प्रभावकारी कार्यान्वयन, र सेवा प्रवाहको गुणस्तर सुधार प्रमुख कार्यसूची हुने छन्।
साथै उनले स्थानीय तह, सुरक्षा निकाय, सञ्चारकर्मी र नागरिक समाजसँग सहकार्य गरेर प्रशासनलाई थप प्रभावकारी बनाइने उल्लेख गरे । भर्खरै सरुवा भएर आएका खड्काले मंगलवार आफ्नै कार्यालयमा पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गरेका थिए ।सीडीओ तामाङले बाँके जिल्लाको विविधता, सम्भावना र चुनौतीलाई आत्मसात गर्दै सबै समुदायलाई समेट्ने प्रशासनिक नेतृत्व गर्ने विश्वास व्यक्त गरे । उनले संचारमैत्री भएर काम गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि पत्रकारहरुबाट पनि आवश्यक सूचनाको अपेक्षा राखेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायतले पत्रकारहरुलाई सहज सूचना प्रवाह, समन्वय, सहकार्य तथा मिडियामैत्री भएर कार्य सम्पादन गर्न सुझाव दिएका थिए ।