काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।
‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ’, सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाल लिन्नौ भनेका छैनन् ।
केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् । उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे । मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रुपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआइको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।
ADVERTISEMENT

