हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) लाई थप प्रभावकारी बनाउने भएको छ । बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको दुवै निकायको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रदेश सुशासन केन्द्रको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रमको प्रगति समीक्षा गरिएको थियो । केन्द्रको पाँचौं वार्षिक प्रतिवेदन प्रस्तुत हुँदा वित्तीय तथा भौतिक प्रगतिको विश्लेषण गर्दै बैठकले आगामी कार्यक्रमहरुलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमका लक्ष्यहरु हासिल गर्न विस्तृत कार्यान्वयन कार्ययोजना बनाएर अघि बढ्न पनि बैठकले निर्देशन दिइएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) निर्देशक समितिको बैठकले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम र रणनीतिक कार्यान्वयन योजनालाई स्वीकृत गरेको छ । बैठकले आगामी वर्षको बजेट तर्जुमा गर्नुअघि आवश्यकता अनुसार समितिको बैठक बस्ने र चालु आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना बनाउने निर्णय गरेको हो ।
बैठकले प्रादेशिक कार्यक्रम संयोजकको अध्यक्षतामा एक प्रदेश प्राविधिक सहयोग समिति गठन गर्ने निर्णय पनि गरेको छ । नवप्रवर्तन साझेदारी परियोजनालाई प्रदेशका सबै जिल्लाका कम्तीमा एक स्थानीय तहमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशको विकास र सुशासन कायम गर्न दुवै निकायको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै जनताले अनुभूत गर्ने गरी काम गर्न निर्देशन दिए ।
ADVERTISEMENT

