काठमाडौं १७ असार। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो । बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ सङ्गठन गठनलगायत अन्य समसामयिक विषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशङ्कर अरगरियाले बताए ।
कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण संयोजक रहेको समितिले पार्टी विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेको छ ।सो विधानको मस्यौदामाथि शीर्ष नेताको बीचमा छलफल पनि भइसकेको छ । त्यसलाई कार्यकारिणी समितिबाट पास गराई निर्वाचन आयोगमा बुझाउने बताइएको छ ।
केन्द्रीय समिति सदस्यको नाम सङ्कलन गर्ने कार्य पनि भइरहेको छ । प्राप्त नाममा सहमति जुटाउनका लागि कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ । त्यस्तै भ्रातृ सङ्गठनको नाम तय भइसकेको छ । त्यसको सङ्गठन निर्माणका लागि पनि छलफल हुने बताइएको छ । त्यसका साथै सरकारलाई बुझाएको ज्ञापन पत्र अझै कार्यान्वयनमा नआएको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने अरगरियाले बताए ।
ADVERTISEMENT