नेपालगञ्ज । बाँकेको कोहलपुरमा कोहलपुर महोत्सव सुरु भएको छ । आज एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् । कोहलपुर न्यूरोडमा सञ्चालन भइरहेको महोत्सवको उद्घाटन समारोहमा वैदिक विधि अनुसार स्वस्ति वाचनसहित दिप प्रज्वलन गरिएको थियो ।
पौष १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे । प्रतिकूल मौसमका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य संघको विशेष आग्रहमा आफू लगायत महासंघका केन्द्रीय पदाधिकारीहरू कोहलपुर आएको उल्लेख गर्दै ढकालले महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताए । देशव्यापी रूपमा सञ्चालन हुने मेला–महोत्सवहरूले सम्बन्धित क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनको भनाई थियो । कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पूर्व संघीय मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुर महोत्सव कोहलपुरका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे । लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याएका थिए ।
यसैबीच कोहलपुर महोत्सवको अवसर पारेर 'बाँके नेशनल पार्क-२०२६' अभियानको समेत औपचारिक शुभारम्भ गरिएको छ । महोत्सवका प्रमुख अतिथि ढकाल, विशिष्ट अतिथि अथक तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहका क्रममा अभियानसम्बन्धि ब्यानर सार्वजनिक गरिएको थियो । यस घोषणाले बाँके जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।
ADVERTISEMENT

