स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गर्दै जिल्ला प्रशासन कार्यालय(जिप्रका) स्याङ्जाले इजाजतप्राप्त हातहतियार बुझाउन दिएको निर्देशन धेरैले बेवास्ता गरेका छन् । तोकिएको समयभित्र ११८ थान इजाजतप्राप्त हतियारमध्ये ३६ थानमात्रै प्रहरी तथा प्रशासनसमक्ष बुझाइएका छन् । जिप्रकाले १५ दिने सूचना जारी गर्दै माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । सूचना जारी भएपछि ११ थान राइफल, ११ थान सटगन, १२ थान भरुवा र दुई थान अन्य हतियार प्रहरीसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रशन्नराज चौधरीले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अपधिकारी प्रेम सुवेदीका अनुसार जिप्रकाबाट इजाजत लिएका हातहतियारको संख्या ११८ छ । त्यसमा २० थान राइफल, ५६ थान सटगन, १९ थान भरुवा र अन्य २३ थान हतियार दर्तामा छन् ।जिप्रकाकाअनुसार हतियार नबुझाउनेका हकमा अब जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्नेछ ।हरेक निर्वाचनमा सुरक्षा जोखिम न्यूनीकरणका लागि हतियार खरखजाना ऐन २०१९ अनुसार इजाजतप्राप्त हतियार अस्थायी रूपमा प्रहरीमा बुझाउने प्रावधान छ । निर्वाचन सकिएलगत्तै सम्बन्धित व्यक्तिले आफ्नो हतियार फिर्ता लैजान पाउँछन् ।
ADVERTISEMENT

