नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारत विचकाे सम्बन्धलाई थप बलियाे बनाउन दुबै देशकाे पत्रकारिता क्षेत्रकाे याेगदान महत्त्वपूर्ण रहेकाे बताएका छन्।साथै उनले माेफसलकाे पत्रकारिताकाे सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताएका छन् ।लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो फेस्टिभलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्ने भन्दै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।दुवै देशको सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताए । लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ ।
समृद्धि र विकासका लागि यस्तो सम्मेलन कोसेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा फेस्टिभलका बहसले नयाँ दिशा दिने बताए ।लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा फेस्टिभल उद्घाटन गरिएको हो । महोत्सवमा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै नेपाल र भारतका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ
ADVERTISEMENT

