चितवन । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उदघाटन गरिएको छ । ६ तले आकर्षक भवनको पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे ।भवनको भुइँ तलामा इन्टेरियरका कामहरुसमेत सकाएर भवनको उदघाटन गरिएको नगर प्रमुख दाहालले जानकारी दिइन् । माथिल्लो तलाहरुमा इन्टेरियरका केही काम भने बाँकी छ ।५३ करोड ३२ लाख ६४ हजारको लागतमा तयार गरिएको भवनमा संघ, प्रदेश र स्थानीय तह (भरतपुर महानगरपालिका)को लगानी छ । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भैसकेको छ ।
महानगरका शहरी पूर्वाधार विकास महाशाखा प्रमुख, वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले निर्माण थालेको करीव २ वर्षमा भवन तयार गरिएको बताए भरतपुर महानगरपालिकाको भवन निर्माणका लागि पर्याप्त जमिन नभएपछि नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गा सम्झौता गरेर थप गरिएको थियो ।महानगर प्रमुख दाहालले संघसँग जग्गा लिने काम निकै मेहेनत र दु:खका साथ गरिएको बताइन् । भवनको २०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए ।२०४३ सालमा बनेको पुरानो र जीर्ण भवनलाई जसोतसो मर्मत गरेर केही संरचना थपेर महानगर सञ्चालन हुँदै आएको थियो । पुरानो भवन गत भदौं २४ गते जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गरेर खण्डहर बनाइएको थियो ।
नयाँ प्रमुख प्रशासनिक भवन ७ कठ्ठा जमिनमा बनेको छ । भवनमा २२१ कोठा छन् । भूमिगत (अण्डरग्राउण्ड) पार्किङमा ५० कार र १५० वटा मोटरसाइकल राख्न सकिनेछ । भवनको भुइँतलामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको कार्यकक्ष छ । दोस्रो तलामा नगर उप्रमुखको कार्यकक्ष छ ।भवनमा २ वटा लिफ्ट र ३ वटा भित्री तथा २ बाहिरी सिँढीहरु छन् । २५० र ३५० जना अट्ने दुई वटा ठूला हल तथा बिभिन्न महाशाखा, शाखाका लागि साना–ठूला गरी १५८ कोठा छन् । बैठक कक्षमात्रै ८ वटा छन् । हरेक तलामा दुई–दुई वटा बैठक कक्ष छन् ।
ज्येष्ठ नागरिक प्रतिक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहलसमेत छन् । सबैभन्दा माथिल्लो तलामा अडिटोरियम हल र अर्को साइडमा कल्चरल म्युजियम रहनेछन् ।
भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित प्रत्येक तलामा पुरूष र महिलाका लागि अलग्गै शौचालय छन् ।पूर्ण अपाङ्गमैत्री यस भवनले आउँदो झण्डै एक सय वर्षसम्म भरतपुरवासी नागरिकलाई सेवा प्रदान गर्ने महानगर प्रमुख दाहालले बताइन् । ‘महानगरको गतिलो भवन नहुँदा हाम्रा सेवाहरु विभिन्न ठाउँबाट दिनुपरेको छ, यो भवन बनेपछि सबै सेवाहरु एकै ठाउँबाट प्रवाह हुन्छ,’ नगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरको एक गौरवका रुपमा यो भवन रहने मलाई विश्वास छ ।भवन शर्मा–सगरमाथा–सगुन जेभीले निर्माण गरेको छ । सो कम्पनीका प्रमुख सहदेव खड्काले भरतपुरको प्रमुख प्रशासकीय भवन नेपालको मौलिकता झल्काउने खालको रहेको बताए ।

