काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ता हुँदैछ ।निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । २१ फागुनमा हुन गइरहेको निर्वाचनमा लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने प्रतिष्पर्धामा हुने छैनन् ।उनले गए मध्यरातमा आफू निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरेका छन् ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले राति सवा १२ बजे प्रेस नोट जारी गरेर भनेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा २०४८ सालको निर्वाचनदेखि लगातार कांग्रेसका तर्फबाट डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले अन्तिमपल्ट निर्वाचनमा प्रतिष्पर्धा गर्ने चाहना राखेका थिए ।उनको चाहनाअनुसार नै कांग्रेसको जिल्ला कार्यसमितिले उम्मेदवारका लागि एकल सिफारिस पनि गरेको थियो । तर, कांग्रेसको दोस्रो विशेष महाधिवेशनका कारण चुलिएको विवादपछि देउवा निर्वाचन नलड्ने मनस्थितिमा पुगेका हुन् ।कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको सर्लाही-४ बाट उठ्ने भएका छन् । उनी काठमाडौं–४ बाट निर्वाचन लड्दै आएका थिए ।
जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट निर्वाचन लड्दैछन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।गत निर्वाचनमा एमाले अध्यक्ष ओली ५२ हजार ३१९ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता खगेन्द्र अधिकारीले २३ हजार ७४३ ल्याएका थिए ।कांग्रेस तत्कालीन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेलमा थिए । एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सघाएका थिए ।
ओली निर्वाचित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेल ११ हजार ७५९ मतसहित तेस्रो भएका थिए । अहिले ओलीलाई रास्वपाबाट बालेन शाहले चुनौती दिने भएका छन् । रास्वपा उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएको छ । बालेन आइतबारमात्रै काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरेर चुनावी अभियानमा होमिएका छन् ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ माओवादी विद्रोहको उद्गम थलो रूकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन् । निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न उनी जिल्ला पुगिसकेका छन् ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रचण्ड गोरखा–२ बाट निर्वाचित भएका थिए । तत्कालीन समयमा उनलाई कांग्रेस र एकीकृत समाजवादीले सघाएका थिए । प्रचण्ड गोरखा–२ बाट २६ हजार १०९ मतसहित विजयी हुँदा दोस्रो भएका रास्वपा नेता कबिन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत प्राप्त गरेका थिए । एमालेका अब्दुस सलाम मिया ७ हजार ३९५ मतसहित तेस्रो भएका थिए ।गत निर्वाचनमा उदाएको रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने चितवन–२ बाट प्रतिष्पर्धा गर्दैछन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ र उपनिर्वाचन–२०८० मा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सञ्चारकर्म छोडेर पहिलोपल्ट संसदीय निर्वाचनमा उत्रिदा लामिछानेले २०७९ मा ४९ हजार ३०० मतसहित शानदार जित निकालेका थिए । उक्त निर्वाचनमा कांग्रेसका निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठले १४ हजार ९८८ मतका साथ दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।दोहोरो नागरिकतासम्बन्धी मुद्दामा लामिछाने निलम्बनमा परेपछि २०८० मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा ५३ हजार १७६ मतसहित दोस्रोपल्ट विजयी भएका थिए । उपनिर्वाचनमा कांग्रेसले युवा नेता जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएका थियो । उनी ११ हजार २१४ मतसहित दोस्रो भएका थिए ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् । गत निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री प्रचण्डका लागि निर्वाचन क्षेत्र खाली गरिदिएका थिए । उनले यसपालि प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)को चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका थिए ।
गोरखा–२ मा कांग्रेसले प्रकाशचन्द्र दवाडी र नेकपाले युवा नेता लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ । एमालेबाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन उम्मेदवार बनेका छन् । रास्पाले यो क्षेत्रमा गत निर्वाचनकै उम्मेदवार बुर्लाकोटीलाई दोहोर्याएको छ ।जेनजी आन्दोलनपछि गठित सरकारमा तीनवटा मन्त्रालय हाँकेका कुलमान घिसिङ काठमाडौं–३ बाट पहिलो पटक संसदीय निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेका छन् ।सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आए घिसिङले २३ पुसमा राजीनामा दिएका थिए ।मन्त्री रहेकै समयमा आफ्नो संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका घिसिङले १४ पुसमा रास्वपासँग एकता गरेका थिए । एकतापछि उनले रास्वपामा पहिलो वरीयताको उपसभापतिको जिम्मेवारी पाएका थिए । तर, पछि घिसिङले रास्वपासँगको एकता भंग भएको घोषणा गरेर उज्याो नेपाल पार्टीलाई अघि बढाएका थिए ।
धरान उपमहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर हर्क साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्दै छन् । उनी आफ्नै नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीको चुनाव चिन्ह माटोबाट निर्वाचन लड्न लागेका हुन् । निर्वाचन लड्न भन्दै साम्पाङले ४ माघमा पदबाट राजीनामा दिएका थिए ।स्थानीय तह निर्वाचन–२०७९ मा साम्पाङ २० हजार ८२१ मतसहित धरान उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए । उनी लौरौ चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा कांग्रेस उम्मेदवार किशोर राई १६ हजार ५९ मतसहति दोस्रो र एमाले उम्मेदवार मञ्जुकुमारी सुवेदी १२ हजार ८२५ मतसहित तेस्रो भएका थिए ।
पूर्वप्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल चितवन–३ बाट चुनावी प्रतिष्पर्धामा उत्रिदै छन् । उनी भरतपुर महानगरपालिकाकी निवर्तमान प्रमुख हुन् । दाहालले प्रचण्ड संयोजकत्वको नेकपाबाट निर्वाचन लड्न महानगरपालिका प्रमुखबाट राजीनामा दिएकी थिइन् ।स्थानीय तह निर्वाचन–२०७९ मा दाहाल ५२ हजार २८ मतसहित महानगरपालिका प्रमुखमा विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत पाएका थिए ।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल १४ हजार ७२८ मतका साथ तेस्रो भएका थिए ।जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट उठ्दैछन् । उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव लडेका थिए । उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । जसपा नेपालका उपेन्द्र यादव चाहिँ उपचुनावमा बारा पुगेका थिए । यसपटक सप्तरी ३ मानै लड्ने तयारी गर्दैछन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन यसअघि नै उनले चुनाव जित्दै आएको क्षेत्र झापा ३ बाट उठ्दै छन् । राप्रपाका कमल थापा काठमाडौं ५ बाट उम्मेदवार बन्दैछन् ।एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट उठ्दैछन् । कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं-५ मा उठ्दैछन् । यो क्षेत्रमा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि उम्मेदवार बन्दैछन् ।
ADVERTISEMENT

