काठमाडौँ — यातायात कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित २७ जनाको मोबाइल र विद्युतीय डिभाइसहरु अख्तियारले नियन्त्रणमा लिएको छ । लाइसेन्स ट्रायलमा रकम असुलेको आरोपमा छानबिनका लागि अख्तियारले मंगलबार दिउँसो कार्यालय प्रमुखसहित १७ कर्मचारी, यातायातमा खटिएका तीनजना प्रहरी र ड्राइभिङ सेन्टरका ७ जनाको साथबाट मोबाइलसहितका उपकरणहरु नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार पोखरेलसहित १७ कर्मचारीका साथबाट २५ थान, ३ प्रहरीको साथबाट तीन थान र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका ७ कर्मचारीबाट ९ थान गरी ३९ थान मोबाइल नियनत्रणमा लइएको हो ।
लिखित जाँच दिनेबाट ५ हजारदेखि १० हजारसमम रकम असुलेर लाइसेन्स दिने गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो । त्यसपछि मंगलबार अख्तियारबाट विशेष टोली छड्केमा जाँदा कैफियत भेटेपछि अनुसन्धानका लागि उपकरणहरु नियनत्णमा लिएको हो । लाइसेन्सका लागि लिखित परीक्षा दिएरपनि अनुत्तीर्ण भएका तर पुन: परीक्षामा सामेल गराइएका मानिसहरुको पनि कागजात अख्तियारले यातायात कार्यालयबाटै नियन्त्रणमा लिएको छ । विचौलियामार्फत कर्मचारीले मिलेमतोमा लाइसेन्स बाड्ने गरेको आरोप पहिल्यैदेखि लाग्दै आएको छ ।

