काठमाडौँ —दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले वैवाहिक बलत्कार मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाइ पाएका छन् । मंगलबार न्यायाधीशद्वय विनाेद शर्मा र बालकृष्ण ढकालको इजलासबाट उच्च अदालत पाटनको फैसला सदर हुने निर्णय भएको हो ।३१ चैत २०८१ मा उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो । न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । श्रीमतीले वैवाहिक बलात्कारको आरोप लागेपछि उनी पक्राउ परेर थुनामा थिए । उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिएकाे थियाे भने त्यसपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते गिरीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो । त्यसपछि गिरीकी पूर्वपत्नी रावल सर्वोच्च अदालतमा अनसन बसेकी थिइन् । बहस चलिरहँदा इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । मुद्दा दायर भए लगत्तै उनी निलम्बनमा परेका थिए भने उच्चले सफाइ दिएपछि जिम्मेवारीमा फर्केका थिए ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्लाले गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएको थियो । जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पनि सजाय कम भएको पुनरावेदन गरेकाे थियो । पुनरावेदनमाथि भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै उच्चले गिरीलाई सफाइ दिइएको थियो । सम्बन्ध विच्छेदपछि पनि सहमतिबिना शारीरिक सम्बन्ध राखेको र जबर्जस्ती करणी गरेको भन्दै उनीविरुद्ध रावले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा मुद्दा दायर भएको थियो ।
ADVERTISEMENT

