काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ अस्पतालमा हरेक दिन बिहान ८:३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए ।
अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ तथा प्राविधिक जनशक्तिमार्फत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल आँखा अस्पतालबाट बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायतका विविध उपचार सेवा उपलब्ध छन् ।त्यसैगरी, २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग (इन-पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा समेत बिरामीले निरन्तर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । शल्यक्रिया सेवाअन्तर्गत मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको छ ।
ADVERTISEMENT

