काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५० जनाविरुद्ध दायर भएको आपराधिक उपद्रव र कर्तव्य ज्यानसहितको मुद्दामा थाम्ने म्याद सकिएपछि मुद्दा पेस गर्न आदेश जारी गरेको छ । बिहीबार जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासबाट उक्त आदेश भएको हो। २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको विध्वंसमा प्रसाईंसहित ५० जनाविरुद्ध आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।
कानुनतः अदालतले तोकेको तारिख गुजारेपछि थाम्ने थमाउने म्याद व्यतित गरी मुद्दाका दुवै पक्ष अदालतमा उपस्थित नभएमा पनि सुनुवाइ भने रोकिँदैन । प्रतिवादीले तारेख गुजारेको अवस्थामा बुझ्नुपर्ने प्रमाण बुझी ठहरेबमोजिम फैसला हुन्छ ।मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८५ मा यस्तो व्यवस्था रहेको छ। अदालतमा बयान प्रतिउत्तर लिइसकेपछि तोकिएको तारेखमा प्रतिवादी अदालतमा उपस्थित नभएमा पनि कानुनबमोजिम मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्दैन।
ADVERTISEMENT

