बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।
मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लीला गिरी भने अनुपस्थित भए । लिला गिरी पूर्व मुख्यमन्त्रीसमेत हुन् । अन्य पूर्व मुख्यमन्त्रीहरु शपथ ग्रहण समारोहमा सहभागी भए पनि गिरी भने सहभागी भएनन् ।
दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण शपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे ।
एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।