काठमाडौं । म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सरकारसँग ७ साउनमा अघि सारेका १५ बुँदे माग सम्बोधन नगरिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज आन्दोलनका कार्यक्रम अघि सारेको हो ।संघले आज रातिदेखि वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा नलिने घोषणा गरेको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले माग सम्बोधन नभएसम्म सरकारले दिने सेवा सुविधा नलिने बताए ।विभागले पूर्व र अन्तिम श्रम स्वीकृति, विज्ञापन, मागपत्र प्रमाणीकरण लगायत सेवा प्रदान गर्दै आएको छ । संघले माग सम्बोधन नहुँदासम्म यी सेवा नलिने घोषणा गरेको हो ।
त्यस्तै आन्दोलन क्रममा पनि सरकार तथा सरोकारवाला निकायसँग वार्ता तथा छलफल जारी राख्ने बस्नेतले बताए । चरणबद्ध आन्दोलन घोषणा गरेको संघले माग सम्बोधन नभएसम्म म्यानपावरले आफ्ना कार्यालयको तालाचाबी सरकारलाई बुझाउने र त्यतिगर्दा पनि माग सम्बोधन नभए १ भदौदेखि कार्यालय बन्द गरेर श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताए । वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीलाई कारबाही गरेको थियो ।

