काठमाडौं ५ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।पछिल्लो पटक ३० असार २०७९ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता वापतको रकम तिरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनकाअनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको छ । त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको उनले उल्लेख गरेकी छिन् ।
ADVERTISEMENT