नेपालगञ्ज साउन । नेपालगञ्जमा लेबल, उत्पादन मिति र उपभोग्य मिति उल्लेख नभएका जारको पानी बिक्री–वितरण भइरहेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। खानेपानी जस्तो संवेदनशील वस्तुको बिक्रीमा आवश्यक विवरण नखुलाइएको भन्दै उपभोक्ताले सम्बन्धित नियमनकारी निकायको अनुगमन र कारबाही प्रति प्रश्न उठाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–११ का उपभोक्ता बब्लु खानले आफूहरूले विगत एक सातादेखि लेबल र म्याद उल्लेख नभएका जारको पानी बिक्री–वितरण भइरहेको विषय सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आएको बताए । उनका अनुसार उपभोक्ताले पटक–पटक यस्तो समस्या औंल्याउँदा पनि प्रभावकारी अनुगमन हुन नसकेको गुनासो छ । खानले भने, “हामीले विगत एक सातादेखि लेबल र म्यादबिनाका जार बिक्री भइरहेको विषय सामाजिक सञ्जाल मार्फत जानकारी गराउँदै आएका छौँ । तर सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन भएको देखिएन । यता,यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेको प्रतिक्रिया लिने प्रयास गरिएको थियो कार्यालय प्रमुख बुधबार बिदामा रहेकाले सूचना अधिकारी रामहरि लामिछानेसँग जानकारी मागिए लामिछानेले भने कार्यालयले बजार अनुगमन गर्दै आएको र अनुगमनका क्रममा कमी–कमजोरी भेटिएमा कारबाही गर्दै आएको बताए । बाँकेमा सञ्चालित पानी उद्योगको संख्या, ती उद्योगहरूको अवस्था तथा पानीको गुणस्तर परीक्षण सम्बन्धी विवरणबारे जि नेपाल टेलिभिजनले जानकारी माग्दा सूचना अधिकारी लामिछानेले कार्यालयमा आएर लिखित रूपमा सूचना मागेपछि मात्र आवश्यक विवरण उपलब्ध गराउन सकिने बताएका थिए । त्यस्तै, कार्यालयका एक कर्मचारीसँग उपभोक्ताले जारको पानीमा देखिएको समस्या कसरी सम्बन्धित निकायसम्म पुर्याउने भन्ने विषयमा जानकारी माग्दा कार्यालयमा आएर निवेदन दिन वा प्रहरीलाई खबर गर्न सुझाव दिइएका थिए । प्रहरीमार्फत सम्बन्धित व्यक्ति वा उद्योगलाई प्रशासनमा ल्याइएपछि पानी उद्योगमाथि कारबाहीका लागि प्रक्रिया अघि बढाउने कार्यालयको भनाइ थियो।
तर उपभोक्ताहरू भने खाने पानी जस्तो दैनिक उपभोग्य तथा स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको वस्तुमा समस्या देखिएपछि उजुरीको प्रतीक्षा गर्नुको सट्टा सम्बन्धित निकायले नियमित र प्रभावकारी बजार अनुगमन गर्नुपर्ने बताउँछन्। विशेषगरी जारको पानीमा उत्पादन मिति, उपभोग्य मिति, उत्पादकको विवरण तथा अन्य आवश्यक लेबल स्पष्ट रूपमा उल्लेख गरिएको छ कि छैन भन्ने विषयमा अनुगमन हुनुपर्ने उपभोक्ताहरूको माग छ । साथै, पानीको प्रशोधन प्रक्रिया, जारको सरसफाइ र पानीको गुणस्तरसमेत नियमित परीक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भने आफूहरूले बजार अनुगमन गर्दै आएको र कमजोरी भेटिए कारबाही गर्ने गरेको जनाएको छ । तर नेपालगञ्जमा लेबल र म्यादबिनाका जारको पानी बिक्री भइरहेको भन्ने उपभोक्ताको गुनासो सार्वजनिक भइरहेकाले अनुगमनको प्रभावकारिता र बजारमा भइरहेको निगरानीबारे थप स्पष्टता आवश्यक देखिएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने जारको पानीको गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायले नेपालगञ्जमा सञ्चालित पानी उद्योगहरूको अवस्था, नियमित गुणस्तर परीक्षण, लेबलिङ तथा उत्पादन–उपभोग्य मितिको विवरणबारे प्रभावकारी अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ । उपभोक्ताको प्रश्न भने यथावत् छ—लेबल र म्यादबिनाको पानी बजारमा पुगिरहेको अवस्थामा यसको गुणस्तरको जिम्मेवारी कसले लिने ?

