
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सफ्टी हाईजिन परिवारले दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सफ्टी हाईजिनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र उद्धार तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ । विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको सफ्टी हाईजिनले जनाएको छ ।
राष्ट्रिय विपद्को यस कठिन घडीमा नेपाल सरकार, स्थानीय प्रशासन, दातृ निकाय तथा निजी क्षेत्रको संयुक्त प्रयासबाट उद्धार तथा राहतका काम भइरहेको भन्दै सफ्टी हाईजिनले सबैप्रति आभार व्यक्त गरेको छ । त्यस्तै, विपद्को समयमा दिनरात नभनी उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायलाई धन्यवाद दिँदै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर गरिने प्रतिबद्धता जनाएको छ ।

