अर्थ मन्त्रालयका उच्च अधिकारीसँग सीसीटीभीबारे सोधपुछ
zeenepal
२०७९ श्रावण १,
6
Shares
काठमाडौं साउन। बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ ।आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ सक्ने तयारी रहेको छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।आइतबार नै अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको उनले जानकारी दिए ।
उनले भने, ‘शनिबार पनि भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ गर्ने काम भयो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग ८ बजेको बैठकमा छलफल भयो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । अब राजश्व सचिवसँग छलफल तथा सोधपुछ गर्ने कार्यक्रम छ । सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सक्ने तयारी छ ।’सचिव अर्यालले आइतबार नै नै अर्थ मन्त्रालयसँग सम्बन्धित विषयका प्रमाण र कागजका लागि आवश्यक सबै अधिकारीहरुसँग छलफल तथा सोधपुछ सकेर समिति अगाडि बढ्ने तयारी रहेको बताए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेपछि राजीनामा दिएका थिए ।