वीरगञ्ज । पर्साको वीरगञ्जमा चिडियाघरको शिलान्याश गरिएको छ ।वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाघना)को शिलान्यास गरेका हुन् ।आफ्नै क्षेत्रमा चिडियाघरको शिलान्यास गरेका उनले हरेक प्रदेशमा एउटा चिडियाखाना हुनेगरि काम अघि बढाउने बताएका छन् । वीरगञ्जमा मधेस प्रदेशको मात्रै नभएर देशकै नमुना खुल्ला चिडियाखाना बन्ने दावी उनको छ ।
‘वीरगञ्ज, सिमरा, कलैया, सर्लाहीमा पर्यटक आउँछन भने घुम्ने ठाउँ छैन, एक दिन अल्झाउन गाह्रो पर्छ,’ उनले भने, ‘अब बन्न लागेको खुला चिडियाखानाले केहि हदसम्म त्यो अभावलाई पूरा गर्छ । वीरगञ्जमा आएका पर्यटकलाई २/४ रात बास बस्न सक्ने वातवारण बनाउनुपर्छ ।’चिडियाखाना बनेपछि काठमाडौं, पोखरा लगायत नेपालको विभिन्न कुनाका साथै भारतीय र विदेशी पर्यटक समेत वीरगञ्जमा आउने दावी वन मन्त्री यादवको छ ।
मन्त्री यादवले पर्सामा नै चिडियाखाना भईदिए हुन्थ्यो भन्ने बाल्यकालको कल्पना पुरा गर्ने अवसर मिलेको बताए ।एसएलसी पछि काठमाडौं घुम्न गएका थियौं, टिकट काटेर जाउलाखेलको चिडियाखाना भित्र पस्यौं । त्यहि बेला वीरगञ्जमा पनि चिडियाखना भइदिए हुन्थ्यो भन्ने कल्पना गरेको थिए । आज आफैंले शिलान्यास गर्ने अवसर मिल्यो’, मन्त्री यादवले भने ।
वन मन्त्रालय अन्र्तगतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्वर ढकालका अनुसार चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति दिइसकेको छ ।‘चिडियाखानाको क्षेत्रमा तारबार गर्ने, गुरुयोजना बनाउने लगायत कामका लागि १० करोड रुपैयाँ मागेका थियौं, अर्थमन्त्रालयले सहमति दिइसकेको छ’, उनले भने । पहिला डिजाइन तयार गरेर स्वीकृत गर्ने र त्यसपछि क्रमशः पूर्वाधार बनाएर जनावरहरु पनि राख्दै जाने उनले बताए ।
ADVERTISEMENT